Section 6
विदेशी लगानी करको निर्धारण

(१) कर अधिकृतले विदेशी लगानीको विवरण दाखिल भएपछि यथाशक्य १ महीनाभित्र सो सालको लागि यो ऐनबमोजिम असूल उपर गर्नु पर्ने विदेशी लगानी करको रकम निर्धारण गर्नुपर्छ ।

तर, कुनै व्यक्तिको जति सुकै विदेशी लगानी भएपनि सबैको विवरण लिई बेग्ला बेग्लै मूल्याङ्कन गरी सबै विदेशी लगानीलाई यो ऐनको प्रयोजनको लागि एउटै ईकाई ( यूनिट) मानी विदेशी लगानी कर निर्धारण गर्नुपर्छ ।

(२) प्रत्येक सालको निमित्त विदेशी लगानीमा लाग्ने विदेशी लगानी कर निर्धारण गर्दा कानूनी मान्यता प्राप्त हक अधिकार भई साल सालको श्रावण १ गतेका दिन जसको भोग चलनमा रहेको छ निजको नाममा विदेशी लगानीलाई कायम मानेर कर निर्धारण गर्नुपर्छ ।

(३) अवस्था अनुसार कर अधिकृतले त्यस्तो कर निर्धारण गर्दा करदाताद्वारा दाखिल भएका विवरण माथि उचित विचार गर्ने र त्यसको जाँचबुझको प्रयोजनको लागि सम्बन्धित व्यक्तिको नाममा समाव्हान जारी गर्ने, बयान बकपत्र गराउने र लिखतहरू दाखिल गराउने सम्बन्धमा प्रचलित नेपाल कानुन बमोजिम अदालतलाई भए सरहको सबै अधिकार निजलाई हुनेछ ।

तर यस दफा अन्तर्गत कारवाई हुँदा ७ दिनसम्मको लागि अर्जि खबर गरेमा वा गुज्रेको म्याद तारेख थाम्न ७ दिनभित्र कर अधिकृत छेउ आफैं वा वारिस हाजिर भै अर्जि गरेमा कर अधिकृतले अर्जिलाई स्वीकृति दिन वा म्याद तारेख थामी दिन सक्नेछ । सो भन्दा बढीको निमित्त अर्जि लाग्न वा गुजारेको म्याद तारेख थामिन सक्ने छैन ।